Notifications

डबलीले बदलिदियो जीवन

Published date : 2018-05-14 Your IP - 54.81.150.27

इँटाभट्टामा काम गरें । रत्नपार्कमा बदाम बेचें । होटलमा भाँडा माझ्नेदेखि म्यानेजरसम्म भएँ । जब डबली थिएटर हुँदै मण्डला थिएटर आइपुगें, जीवनै बदलियो ।

काठमाडौँ — ‘हैट’ अर्थात् बुद्धि तामाङ । टेलिसिरियल ‘मेरी बास्सै’मा हनुमानेको थेगो । यही थेगोले बुद्धिलाई फिल्ममा एकपछि अर्को काम दिलाउँदै गयो । यद्यपि उनले ‘मेरी बास्सै’ अघि ‘कबड्डी’ जस्ता चलेका फिल्म खेलिसकेका थिए ।

कुनै समय जागिरको नाममा हदै शारीरिक श्रम गरेका यिनी यतिबेला कम फुर्सदमा हुन्छन् । एकपछि अर्को फिल्मसित जोडिँदै गएका बुद्धिले थोरै समयमै दुई दर्जन फिल्म गरिसकेका छन् । कान्तिपुरकर्मी मधु शाहीसँगको भेटघाटमा उनले आफ्नो कथा यसरी सुनाए :

‘ह्वाट इज नेक्स्ट ?’ अर्थात्, अब के गर्ने ? मलाई यो अंग्रेजी वाक्यले सानैदेखि नै जिज्ञासु बनाउँथ्यो । यद्यपि मेरो अंग्रेजी राम्रो छैन । तर, गरिरहेको काम दिक्क लाग्यो भने अर्को लाइन समाइहाल्ने सानैदेखिको स्वभाव हो । काभ्रेको तेमाल सरमथलीमा जन्मे हुर्केको हुँ, सानो छँदा स्कुले नाटकहरू गर्थें । एसएलसी दिएपछि काठमाडौंमा तँलाई टन्नै जागिर लाइदिन्छु भनेर गफ दिने दाजुहरू थुप्रै हुन्थे । मैले पनि जागिर खाने र पैसा कमाउने पर्खाइमा एसएलसी छिटो सकाएँ । वि.सं. २०५६ मा स्कुल सकाएर जागिर खाने सपना बुन्दै काठमाडौं आइपुगें । जस्तो सुनेको थिएँ, उति सजिलो रहेनछ काठमाडौंमा जागिर खान । यसपछि त गफ दिएकाहरू पनि मौन बस्न थाले । म चाहिँ जागिर त जसरी पनि खाएरै देखाउँछु भन्दै इख पाल्न थालेँ ।

भर्खरै जुँगाको रेखी बसेको किशोर, पढ्नतिर भन्दा जागिर खोज्नेतिर बढी जोसिएँ । एसएलसी पासलाई कसले पत्याउने ? भित्री मनले भने जतिबेला पनि काम र पैसा मात्रै देख्थ्यो । गाउँबाटै पैसा र जागिरको सपना देखेर आएको भएर होला । एकदिन घुम्दै भक्तपुरको इँटा भट्टमा पुगें, अहो † त्यहाँ त मैले इँटाको साटो पैसा नै पैसा पो देखें । अनि लागें त्यही काममा ।

दिनभरि एक्लै इँटा बनाउने काम गर्न थालें । पैसा पनि राम्रै जोहो हुन थाल्यो । तर, हातभरि पैसा हुँदा पनि मन भने सन्तुष्ट हुन सकेन । कता–कता हाट इज नेक्स्ट ? भन्दै मनले प्रश्न गर्‍यो । ‘धत् यस्तो जागिर पनि गर्ने ? व्यापारी पो हुनुपर्छ त,’ अर्को मनले भन्यो । अनि इँटा पार्न छाडिदिएँ । भक्तपुरबाट काठमाडौं आएँ । व्यापार के गर्ने त ? रनभुल्ल परें । गाउँका केही मानिसहरू रत्नपार्क/पुरानो बसपार्कतिर बदाम बेच्थे । मेरा लागि त्यही व्यापार बन्यो । अनि थालें बदाम बेच्न । मलाई कहिले पनि काम सानो र ठूलो लाग्दैन थियो । गाउँमा पनि काम गरेरै आएको थिएँ । आमा बुबालाई खेती किसानीमा सघाएकै थिएँ । सहरमा काम गर्न केको लाज ?

कामको फरक अनुभवले रमाइलो दिलाउँदै गयो । व्यापारमा नाफा र घाटाको कुरा आउँदोरहेछ । जागिरमा जस्तो महिना पुग्यो तलब थाप्न नपाइने । फेरि मन महिना मर्ने बित्तिकै तलब थाप्ने लोभतिर गयो । अनि काम खोज्दै एउटा होटलमा पुगें । त्यहाँ मैले भाँडा माझ्ने कामबाट जागिर सुरु गरें । भाँडा यति मज्जाले टल्काएछु कि साहुले पदोन्नति गर्दै पछि मलाई नै म्यानेजर बनाइदिए । तैपनि चित्त बुझेन । मनले फेरि भन्यो– हाट इज नेक्स्ट ? अनि लागें नयाँ कामतिर । त्यो नयाँ काम चाहिँ ट्रेकिङको भारी बोक्ने थियो । काठमाडौं सहरमा ६ वर्ष यसरी नै बिताइरहेको थिएँ, जीवनलाई हरेक पेसामा परीक्षण गर्दै । वि.सं. २०६२ सालको एकदिन गाउँकै साथी प्रभातले सोच्दै नसोचेको प्रस्ताव ल्याए । उनले भने, ‘नाटक खेल्छौ ?’ मैले भनें, ‘नाटकबाट पनि पैसा आउँछ र ?’ उनले अलिअलि आउँछ भने ।

खासमा पुष्कर गुरुङको डबली नाट्य समूहले सडक नाटकका लागि कलाकार खोज्दै रहेछ । सानोमा गाउँमा छँदा नाटक गरेको देखेका प्रभातले मलाई झल्याँस्स सम्झेछन् । बालुवाटारमा थियो त्यो बेला डबलीको अफिस । म नाटकसित जोडिएँ । सडक नाटकको क्रममा विभिन्न ठाउँ घुम्न पनि पाइने अनि पैसा नि मिल्ने, रमाइलो पो लाग्दै गयो । तर, नाटक भने बुझेको रहेनछु मैले । रंगकर्मी अनुप बरालको १२ दिने कार्यशालामा सहभागी भएपछि रस पस्न थाल्यो । रंगमञ्चमा ‘दिल मागे मोर’ जस्तै हुन थाल्यो । तर, भ्वाइस टेस्ट गर्दा फेल खाएँ । यद्यपि चुप लागेर बस्न सकिनँ । यस बीचमा राजन खतिवडाको संगत लागेर लाइटिङ, मञ्च सेटिङ जस्ता रंगमञ्चका टेक्निकल पाटोमा काम सिकिरहेको थिएँ । ‘मलामी’ नाटकमा काम गर्ने मौका जुर्‍यो । अनुप सरसँग आफैंले अनुरोध गरेर पात्र रोजेको थिएँ । ६५ वर्षको बूढोको अभिनय गर्नुपर्ने थियो । त्यसका लागि मैले धेरैपटक पशुपति वृद्धाश्रमका बाजेहरूको दिनचर्या नियाल्न गएको याद छ ।

नाटक जीवन्त पार्न हेर्नु, कल्पना गर्नु र अनुभव बटुल्नु यी तीन पक्ष हुनैपर्छ । म यी तीनै पक्षमा आफूलाई ढाल्ने प्रयास गर्थें । पुष्कर गुरुङको डबलीमा नजोडिएको भए नाटक ‘मलामी’ सम्म आइपुग्ने थिइनँ म । त्यसयता कहिल्यै पनि पात्रका लागि भौतारिनु परेन । डबलीपछि मण्डला थिएटरसित जोडिएँ । नाटक गर्दै नै थिएँ । एकदिन फेरि कल्पना नगरेको अवसर काखैमा आयो । सात वर्षजति अघि ‘कबड्डी’ फिल्ममा अभिनय गर्ने प्रस्ताव आयो । नकार्न सकिनँ । ‘कबड्डी’ ले फिल्मको पहिलो गाँसमै मिठो स्वाद दियो । त्यसपछि अहिलेसम्म २१ वटा फिल्म गरिसकेछु ।

टेलिसिरियलमा ‘हैट’ शब्द प्रयोग गर्ने पात्रले अझै धेरै चिनायो । अचेल नामै फेरिएकोछ ‘हैट’ भनेर । पात्रद्वारा कलाकार चिनिँदा खुसी लाग्छ । तर, हरेक फिल्ममा उही शब्द बोल्न लगाउँदा अलि मन खिन्न हुन्छ । अभिनयमा मेरो आफ्नै फ्लेवर छ । यसलाई जोगाएर काम गर्न मन छ । त्यसैले आएजति सबै फिल्ममा साइन गर्दिनँ । यसको अचुक उपायको रूपमा आफ्नो पारिश्रमिक बढाएको छु । नाटक मेरो जरो हो । यतिबेला मन स्थिर छ । अब मनले ‘ह्वाट इज नेक्स्ट ?’ भनेर प्रश्न सोध्दैन । सोध्यो भने अंग्रेजीमै रिप्लाइ दिन्छु, ‘एक्टिङ, एक्टिङ, जस्ट एक्टिङ ।’

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio