Notifications

‘छाडा लेख्नु यौन साहित्य होइन’

Published date : 2018-04-27 Your IP - 54.221.147.93

मानिसको यौन मनोभावनालाई टपक्कै टिपेर कलात्मक शैलीमा कथामार्फत प्रस्तुत गर्ने श्रीरामसिंह बस्नेत पेशाले पत्रकार हुन् । विभिन्न विधाका ८ पुस्तक निकालिसकेका बस्नेत मनोविश्लेषणात्मक कथा लेख्न बढी रुचाउँछन् । अहिले उनको ‘अनुहारहरू’ कथा सङ्ग्रह प्रकाशित भएको छ । मनोविश्लेषणात्मक यौन कथामा कलम चलाउन रुचाउने बस्नेतले लेखन र अहिलेको शैलीबारे प्रजु पन्तसँग साटेको अनुभव ।

मनको विश्लेषणको चुनौती
मनोविश्लेषणमा आधारित रहेर कथा लेख्दा जीवनको शुक्ष्म तहदेखि बृहत् तहसम्म केलाउनुपर्ने हुन्छ । मनमा आएको उतारचढावलाई बुझ्नुपर्ने हुन्छ । किनभने हाम्रो मनलाई सानोभन्दा सानो घटनाले पनि परिवर्तन गरिरहेको हुन्छ । मनोविश्लेषणमा आधारित रहेर साहित्यिक सिर्जना गर्नु गाह्रो काम हो ।

के हो यौन साहित्य ?
हाम्रोमा यौन साहित्यलाई अझै पनि उच्छिृङ्खल साहित्यको रूपमा लिइन्छ । यसको कारण यौन साहित्यलाई भल्गर बनाउने र बिकाउ बनाउने परिपाटी नै हो । छाडा लेख्नु यौन साहित्य होइन । शालीन र शिष्ट तरिकाले मान्छेभित्र रहेको मनोभावनालाई प्रस्तुत गर्नु यौन साहित्य हो । यौनलाई शिष्ट तथा मर्यादाका साथ प्रस्तुत गर्ने साहित्यकारमा बीपी कोइराला र भवानी भिक्षु हुन् । उहाँहरूले जस्तो मानक बनाउनुभएको थियो । त्यो भन्दा अर्काे मानक अहिलेसम्म स्थापना हुन सकेको छैन ।

साहित्य भनेको सिर्जना हो । अश्लीलता होइन । समाजको संवेदनशीलता बुझेर साहित्य सिर्जना हुनुपर्छ । आफूले लेखेको वा पढेको कुरा सन्तानलाई पढ भनेर दिन सक्ने हुनुपर्छ । अहिले नेपालमा सिर्जना भइरहेका यौन साहित्य अश्लीलतातर्फ उन्मुख छ । यौन साहित्य लेख्दा शारीरिक सम्बन्धको कुरा मात्र होइन, शारीरिक सम्बन्धको कुरासँगै माया, प्रेम, ईष्र्या, घृणा सबैलाई कलात्मकरूपमा प्रस्तुत गर्न सक्नुपर्छ ।

नेपालमा यौनकाे आयाम
बीपी कोइरालाले यौन मनोविश्लेषणमा आधारित रहेर उत्कृष्ट साहित्य सिर्जना गरेका हुन् । उनले जुन किसिमको मानक तयार गरेका थिए । त्यसपछि यौन साहित्यको मानक तयार नै भएका छैनन् । भवानी भिक्षु पनि त्यही लेभलको हुनुहुन्थ्यो । त्यसपछि धेरै साहित्य सिर्जना भए पनि अर्काे स्टेपमा हामी पुग्न सकेका छैनौं । नेपाली यौन साहित्यले अर्काे लेभल तयार गर्न सकेको छैन ।

बजारमा यौन साहित्यसम्बन्धी पुस्तकको बाढी नै आएको छ । तर, मानक नै तयार गर्नेगरी तहल्का मच्चाउने र अब भने नयाँ अध्याय सुरु भयो है भन्ने यौन मनोविश्लेषणमा आधारित पुस्तक आएका छैनन् ।
यौनमा पहिले र अहिलेको लेखन
मसँगै मेरा समकालीन मित्रहरू सीता पाण्डे, पे्रमा शाहले पनि यौन मनोभावनामा आधारित रहेर कृतिहरू लेख्यांै । हाम्रो पुस्ताले नयाँ अध्याय सुरु नगरे पनि नैतिकतालाई बिर्सने काम भने गरेन । साहित्यलाई साहित्यकै स्थानमा राख्यो, पोर्नग्राफीमा राखेन । तर, अहिले जति पुस्तक निस्केका छन्, सबै त भन्दिन केही पुस्तक अश्लील पनि छन् । यो राम्रो होइन । नाम त नभनांै एउटा प्रेममा आधारित पुस्तकमा किस गरेको कुरा राखिएको छ तर भमिट लगत्तै । के भमिट लगत्तै कसैले किस गर्छ ? जतिसुकै मायाप्रेम भए पनि घिन त लाग्छ नै । यस्तो वाइह्यात कुरा राख्नु बेकार हो ।

बैना लिएर लेख्नु सिर्जना मार्नु हो ।
अहिले एड्भान्समा पैसा लिएर लेख्ने चलन आएको छ । एउटा कुराको विचार गरौं के टल्सटोय, म्याक्सीम गोर्की महान् चित्रकार, कलाकार हाम्रै लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेका कृतिहरू पैसाका लागि लेखिएका थिए ? बैना लिएर लेख्नु सिर्जनालाई मार्नु हो । दिमागमा के लेख्ने भनेर फ्रेमवर्क बनिनसक्दै बैना लिएर पाठकलाई कहाँसम्म न्याय गर्न सकिएला ?

नेपाली बजारमा आएका लेखक र पाठक
नेपालमा लेखन र पठन संस्कृतिमा ठूलो परिवर्तन आएको छ । विगतमा थोरै मात्र नेपाली पुस्तक पाइन्थे । पाठक पनि केही सीमित हुन्थे । तर अहिले लेखकको बाढी नै आएको छ । नयाँ पुस्ता पनि लेखनमा लागेको छ । पाठक पनि बढेकै छन् । तर लेखक र पाठकमा एउटै समस्या गुणस्तर भने छैन ।

पहिले समाजलाई कसरी अगाडि बढाउने भन्ने किसिमका पुस्तक लेखिन्थे । अहिले प्रायः बजारमा कसरी धेरै बिक्री हुन्छ भनेर लेखिन थालेका छन् । पाठक पनि मैले यो–यो पुस्तक पढेँ भनेर देखाउनकै लागि सामाजिक सञ्जालका भित्ता रंग्याउने उद्देश्यले पढेजस्तो देखिन्छ । अहिले गम्भीर पाठक एकदमै कम छन् ।
व्यक्तिनिष्ठ होइन, वस्तुनिष्ठ
लेखकले बिकाउनका लागि मात्र लेख्नुभएन । पाठकले देखाउन र गफ लगाउनकै लागि पढ्नुभएन । दुवैले मिहिन तरिकाले लेख्ने–पढ्ने गर्ने हो भने साहित्यका आधा समस्या सुल्झिन्छन् । राजनीतिक चस्मा र गुटबन्दीले साहित्य सिर्जना हुँदैन । साहित्यकार साँघुरो घेराबन्दीमा पर्नु हुँदैन । कसैको आलोचना गर्दा व्यक्तिवादीभन्दा पनि उसले रचेका कृतिमा आधारित रहेर आलोचना र समर्थन गर्नुपर्छ ।

लेखकले अत्यधिक मात्रामा पढ्नुपर्छ । घुम्ने, त्यहाँको रहनसहन, चालचलनबारे जानकारी राख्ने, मनोभावनालाई बुझ्ने गर्नुपर्छ । यदि शेर्पा समुदायको बारे लेख्दै हुनुहुन्छ भने उनीहरूकै बासस्थान, चालचलन, सबैबारे बुझ्न स्थलगत अध्ययन नै गर्नुपर्ने हुन्छ । नत्र पात्र र पाठकमाथि ठगी हुन्छ ।

लेखन र समाज
लेखेर समाज परिवर्तन हुन्छ जस्तो लाग्दैन । आन्दोलनताका कविताहरूले प्रभाव पारेका छन् । पञ्चायतताका हरिभक्त कटुवाललगायतका साहित्यकार २०६३ सालमा श्रवण मुकारुङलगायतका साहित्यकारहरूले आन्दोलनमा लाग्नलाई जोस थपेका थिए । तर एउटा तह पार गरिसकेपछि त्यसको औचित्य सकिँदो रहेछ ।

यदि लेखेर समाज परिवर्तन हुन्थ्यो भने उहिले लक्ष्मीप्रसाद देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भनेर लेखेकै हुन् तर आजसम्म पनि जातीय विभेद कायमै छ ।
त्यसो हो भने किन लेख्ने भन्ने लाग्न सक्छ । यो एकदमै क्रिटिकल कुरा हो । लेख्नु आत्मसन्तुष्टी र अभिव्यक्ति प्रकट गर्नका लागि हो । मैले लेख्नुको कारण यही हो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio