Notifications

समाचार वाचक : आफ्नै कथा, आफ्नै व्यथा

Published date : 2018-04-27 Your IP - 54.81.150.27

टेलिभिजनमा समाचार वाचन गर्नु सजिलो जस्तो देखिए पनि धेरै जटिल काम हो । जो कसैले समाचार वाचन गर्न सक्दैन । समाचार वाचन गर्दा समाचारका शब्दअनुसार हाउभाउदेखि शब्दमा शुद्धता हुनु जरुरी त छँदैछ, मेकअपमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ किनभने समाचारसँगसँगै वाचकको सौन्दर्य पनि झल्कनु जरुरी हुन्छ । समाचार वाचनका सुरुवाती दिनहरुका बारेका केही वाचकले आफ्ना अनुभव यसरी बताएः
आफ्नो अनुहार देख्दा आफैँ छक्क
दोलखा जिल्ला सुनखानी गाविस घर भएका लोकप्रिय टेलिभिजन वाचक हुन्, जगदीश खरेल । उनी इमेज टेलिभिजनमा स्थापनाकालदेखि नै समाचार वाचन गर्दै आइरहेका छन् । जगदीश हाजिरी जवाफ, वक्तृत्वकलामा सहभागी हुन्थे । अरुले बोलेका कुरा मन नपरे प्रतिवाद गरिहाल्ने उनको बानी थियो । यसले बोल्ने बानी लाग्यो उनलाई ।
गाउँमै एसएसलसी दिएपछि रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए । पढाइसँगै उद्घोषणको तालिम लिए । उद्घोषणमा पहिलो हुनेले इमेज एफएममा काम गर्न पाउँथे । त्यसैले उनले मौका पाए । इमेज एफएममा काम गर्दै जाँदा इमेज टेलिभिजन स्थापना हुने भयो र रेडियोबाट उनी टेलिभिजनमा पुगे ।
‘पहिलो पटक आफ्नो अनुहार टेलिभिजनमा देख्दा अचम्म लाग्यो । ओहो, म यस्तो छु ? जस्तो लाग्यो । टिभीमा म आफैँलाई पाको देखेँ,’ उनले भने ।
उनले तालतालका फ्यानको सामना गरे । त्यसमध्ये एक फ्यानको चर्तिकला उनी भुल्दैनन् । आरआरमा पढ्दाताका नै एक युवती उनको श्रीमती भन्दै भेट्न आइन् । तर उनी अविवाहित नै थिए । अपरिचित युवती श्रीमती भन्दै आएपछि भाउन्न भए । तर कथा अर्कै रहेछ । क्याम्पसमा परिचित बाहेकलाई प्रवेश गर्न नदिने भएकाले ती युवतीले खरेलसँग भेट्नकै लागि श्रीमती बनेर आएकी रहिछन् । भेटपछि सम्बन्ध सकियो रे !
डाक्टरको सपना
न्युज २४ का समाचार वाचक संगम बानियाको सपना थियो चिकित्सक बन्ने तर अहिले उनी समाचार वाचनमा सक्रिय छन् । पढाइमा चाख राख्ने उनी कविता लेख्थे । कतै भ्रमणमा गए संस्मरण लेखेर स्थानीय पत्रपत्रिकामा छपाउँथे । विस्तारै पत्रकारितामा टस बस्दै गयो ।
मकवानपुरबाट उच्च शिक्षाका लागि काठमाडौं आए । साथीहरू पत्रकारितामा नै आबद्ध थिए । उनी पनि त्यत्तै लागे । देशान्तर साप्ताहिक, इमेजहुँदै न्युज २४ पुगे । अहिले उनी समाचार वाचन, कार्यक्रम प्रस्तोता लगायत भइपरी आउने सबै काम गरिहेका छन् ।
२०७२ को भूकम्पताका समाचार कक्ष हल्लिरहँदा समेत समाचार पढिरहेको क्षण उनी सधैँ सम्झन्छन् । ‘समाचार पढिरहेको थिएँ, एकाएक हल्लियो र सबै भाग्न थाले,’ उनले भने, ‘मैले समाचार पढ्न छाडिनँ । धन्न केही भएन ।’

दिदीको सुन बेचेर उद्घोषक
सगरमाथा टेलिभिजनका समाचार वाचक भूपाल लुइँटेलको यात्रा पनि रोचक छ । झापाका उनी रेडियो सप्तरंगी एफएमबट सञ्चार यात्रा सुरु गरेका हुन् ।
रेडियोमा कार्यक्रम चलाउन आरजेको माग भएपछि उनले तालिम लिने तयारी गरे । दाइ पनि तालिम लिने भए । दाइसँग पैसा थियो, उनको गोजी रित्तै । उनले दिदीको सुन पसलमा धितो राखेर तालिम लिइछाडे । त्यही तालिमले उनको सञ्चारकर्म अगाडि बढ्यो । उनी दमकको हिमशिखर टेलिभिजन हुँदै सगरमाथा आइपुगे । उनले शुक्रवारसँग हिमशिखर टेलिभिजनकै सम्झना बाँडे ।
‘बिहान ९ बजेको समाचार भनिरहेको थिएँ, एकदमै भोक लाग्यो । क्यामेरा पर्सनले चिउरा र तरकारी लिएर आए,’ उनले भने, ‘विज्ञापन बजाएर खान थालेको विज्ञापन सकिदा पनि खाको खाई भइएछ । हतार–हतार ‘पज’ गरेर मुखमा भएको चिउरा ओकलेर समाचार पढेँ ।’

टेलिभिजनमा भन्दा पनि रेडियोका फ्यान बढी
हिमालय टेलिभिजनकी सुस्मा केसी श्रेष्ठले स्क्रिनमा समाचार पढ्न थालेको सात वर्ष भयो । रेडियो नाटक हुँदै उनी टेलिभिजनसम्म पुगेकी हुन् । रेडियो नेपालको बाल कार्यक्रममा आऊ मेरा प्यारा प्यारा भाइबैनीहरु भन्ने नाटकमा सुष्मा पनि खेल्थिन् ।
सुस्माले त्यहाँ अरु बालबालिकाले पठाएको लेख रचना पढ्थिन् । त्यहाँ काम गदै गर्दा नेपाल टेलिभिजनमा एसियन मुलुकको कार्यक्रम सञ्चालन गरिन् । उनी समाचार पढ्न टेलिभिजनमा आएकी हैनन् रे ! कार्यक्रम चलाउन आएकी उनी समाचारतिर पुगिन् ।
स्टार एफएममा समेत काम गरेकी उनी टेलिभिजनमा भन्दा एफएममा धेरै प्रशंसक हुने बताउँछिन् ।
‘टेलिभिजनमा देख्दा दर्शकहरुले कता–कता देखेको फिल गर्नुहुन्छ तर बोल्न गाह्रो मान्नु हुन्छ,’ उनले भनिन्, ‘एफएममा काम गर्दा स्रोताले फोन गरेर कार्यालयमै भेट्न आउनु हुन्थ्यो ।’
लक्ष्य गायक, भए समाचार वाचक
एभिन्युजनका समाचारवाचक सरोज कोइरालाको लक्ष्य गायक बन्ने थियो तर अहिले उनको लक्ष्य साइड जबजस्तै भएको छ । झापा सुरुङ्गाका उनले गीत नगाएका हैनन् तर बलियो परिचय भने समाचारवाचककै छ ।
काठमाडौंमा गायक बन्न भौतारिदा भौतारिदै १० वर्षअगाडि रेडियो सिटीमा समाचार पढ्न पुगे । त्यहाँबाट एभिन्युज पुगेका उनको वाचनको यात्रा जारी छ ।
‘सुरुमा टेलिभिजनमा देखिदा औधि खुसी लाग्यो, गाउँ जाँदा वरिपरिका भेला हुन्थे,’ उनले रमाइलापल बाँडे, ‘ठूलो मान्छे भइस्, राम्रो गर् भन्दा रमाइलो लाग्थ्यो । अहिले त्यस्तो त छैन तै पनि म गाउँ आएँ कि आइनँ अझै ख्याल गर्छन् ।’

शिक्षक वाचक
नेपाल टेलिभिजनमा समाचार वाचकका कार्यरत छन् देवीप्रसाद सापकोटा । उनी पनि संगतले यता तानिएका रहेछन् । पत्रिकामा समाचार लेख्दै २०६० बाट उनले प्रशिक्षार्थीको रुपमा नेपाल टेलिभिजनमा प्रवेश गरेका थिए । उनी अझै त्यहीँ नै छन् । टेलिभिजनमा उनी रिपोर्टर हुँदै समाचार वाचक भएका हुन् ।
उनी यसअघि माध्यमिक विद्यालयको शिक्षक रहेछन् । शिक्षण पेसा र पत्रकारितासँगै अगाडि बढाएका उनको शिक्षण पेसा छुट्यो, पत्रकारिता यात्रा जोडियो ।
‘अझै पनि पढाउन पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनले रहर खुलाए ।

बाबुको सपनाले काँचमा
सर्लाहीकी सचिता बुढाथोकी एबिसी टेलिभिजनकी समाचार वाचिका हुन् । उनको यात्रा पनि रेडियोबाट जोडिएको हो ।
रेडियोको विज्ञापनमा आवाज दिएर सञ्चार माध्यममा आएकी उनी काष्ठमाण्डप टेलिभिजन हुँदै एबिसीसँग जोडिइन् । उनी टेलिभिजनमा आउनुको कारण बुबाको रहर रहेछ ।
‘बुबाले तेरो रेडियोमा आवाज सुनेँ अब टिभीमा हेर्ने चाहना छ भन्नुभयो,’ उनले भनिन्, ‘मलाई पनि रहर लाग्यो र यतै जोडिएँ ।’ उनलाई प्रेम प्रस्ताव खुबै आउँछन् रे ! तर बिहे नै गर्ने सोच भने अझै आएको छैन भन्छिन् उनी ।

झन्डै रिजेक्ट भएको सपना
कान्तिपुर टेलिभिजनकी शारदा अर्याल चितवनकी हुन् । चितवनकै कालिका एफएममा काम गरेर काठमाडौं आएकी उनले टेलिभिजनमा काम गर्छु भनेर अप्लाइ गरिन् तर कसैले स्वीकार गरेनन् ।
उनी निरास भइन् तर उनले हरेस खाइनन् । आफ्नो सपना मनमा साँचेर अगाडि बढिरहिन् । नौ वर्ष अगाडि कान्तिपुरमा भ्याकेन्सी खुल्यो । अन्य ठाउँमा आवेदनको उत्तर नपाएकी उनी नहच्किएकी हैनन् तर जे त होला भनेर अप्लाइ गरिन् । धन्न उनको आवेदन स्वीकार भयो रिर्पोटरको रुपमा । रिर्पोटरको यात्रा पार गरेर अहिले उनी समाचारवाचक भएकी छन् ।

रुँदै, समाचार पढ्दै
२०६१ मा नेपाल वन टेलिभिजनबाट समाचार यात्रा सुरु गरेकी रुपा खड्का अहिले एपी वानमा छिन् । २०६० मा एसएलसी दिएपछि टेलिभिजनमा कार्यक्रम चलाउने खुल्दुली मेट्न स्थानीय केवल च्यानलमा काम सुरु गरिन् । त्यहाँ उनी कलाकारको अन्तर्वार्ता लिन्थिन् । काम गरिन् तर पैसा पाइनन् ।
फूल्चोकी अडियो क्यासेट सेन्टरले उद्घोषिका माग्यो । उनी गइन् । चयन भइन् । चार भाग चलाएपछि पहिला जसले कार्यक्रम चलाएका थिए उही फर्किए । जता काम गरे पनि पैसा नपाएपछि बुद्ध एयरको एयर होस्टेजमा एप्लाई गरिन् ।
उनले नेपाल वनमा समाचार वाचक चाहिएको सुनिन् । ‘आमालाई सोधेँ, ‘तेरोे इच्छा गर’ भन्नुभयो, नेपाल वनमा समाचार त इन्डियाबाट प्रसारण हुन्थ्यो,’ उनले भनिन्, ‘समाचार पढ्न भारतै जानुपर्ने । यता स्क्रिन टेस्ट पास भएपछि भारत लगियो ।’ उतैबाट समाचार भन्न थालिन् उनले ।
‘समाचारभन्दा पहिला निकै डर लाग्थ्यो, भाषा पनि नबुझिने,’ उनले भनिन्, ‘पहिलो पटक कम्प्युटरबाट समाचारभन्दा धेरै डर लाग्यो, बिस्तारै बानी पर्यो ।’
त्यस बेला सोह्र हजार भारु तलब दिइएको थियो । ‘सुरुका दिनमा म बिहानदेखि रातिसम्म अफिसमै बस्थेँ । बस्ने ठाउँमा जाने बाटो देखेकी थिइनँ । पछि बल्ल बानी परेँ ।’
पछि नेपाल फर्किएर इमेजमा काम सुरु गरिन् ।
‘बिहे भएको थियो । बच्चा पनि भयो । सुत्केरी बिदा २ महिना पाएकी थिएँ,’ उनले भनिन्, ‘बिदा थप गर्न खोज्दा काम छोडे हुन्थ्योजस्तो व्यवहार भयो र छाडेँ ।’ यसपछि उनी एपी वनसँग जोडिइन् ।
समाचार वाचकको रुपमा उनको स्मरणीय घटना दुःखसँग जोडिएको रहेछ । उनले दुःख यसरी साटिन् :
‘समाचार पढ्नु ५ मिनेटअगाडि नेपालबाट छिमेकीले फोन गरेर तपाईंको बुबालाई कस्तो छ भन्नुभयो । बुबा त्रिशूली दुर्घटनामा पर्नु भएको रहेछ । म आत्तिन्छु भनेर कसैले भन्नु भएन । फोेन गर्दा कहिले कता जानु भएको छ भन्ने कहिले कता भन्ने खबर पाउँथेँ । ती छिमेकीले बुबा दुर्घटनामा पर्नु भएको भन्नुभयो । समाचार पढ्ने समय भयो । बुबा अब हुनुहुन्न भन्ने लाग्यो । आँशु थामिएन । रुँदै समाचार पढेँ । पछि घरमा फोन गरेर सोध्दा बुबा ठीक हुनुहुँदो रहेछ । ढुक्क भयो ।’
Source Sukarabar

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio